चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको यसअघि स्थगित गरिएको जिल्ला अधिवेशनको स्थगन आदेश फुकुवा गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले २०८३ जेठ २४ गते जारी गरेको स्थगन आदेश हटाउँदै अधिवेशन आगामी साउन २२ गते सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सञ्चालन हुने जनाएको हो।
केन्द्रीय निर्वाचन आयोगका अनुसार जिल्ला अधिवेशन सञ्चालन हुनुअघि लिसंखुपाखर गाउँपालिकाको अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ। त्यसपछि स्थगित गरिएको चरणबाटै निर्वाचन प्रक्रिया पुनः अघि बढाइनेछ।

स्थगन हुनुअघि सम्पन्न भएका सम्पूर्ण निर्वाचन प्रक्रियाहरू यथावत् कायम रहने आयोगले स्पष्ट गरेको छ। बाँकी निर्वाचन प्रक्रिया भने केन्द्रीय निर्वाचन आयोगबाट स्वीकृत संशोधित निर्वाचन कार्यतालिकाअनुसार सिन्धुपाल्चोक जिल्ला अधिवेशन निर्वाचन समितिले सञ्चालन तथा सम्पन्न गर्नेछ।
निर्वाचन आयोगले जिल्ला अधिवेशन र निर्वाचन प्रक्रिया स्वच्छ, व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित सबै सरोकारवाला पक्षलाई आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ।








