काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।
साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।पूजाआजा गर्नेहरुको पशुपति मन्दिरमा बिहानैदेखि घुइँचो छ । भक्तजनको घुइँचोलाई मध्यनजर गरी पशुपतिका चारवटै ढोका खुला राखिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार आज बिहान ३ बजेदेखि नै चारढोका खुला छन् ।

यस पटकको साउन महिनामा चार वटा सोमवार परेको छ । यसैबीच सोमबारदेखि नै देशका विभिन्न भागमा बोलबम यात्रा सुरु भएको छ । काठमाडौंको पशुपति र चितवनको देवघाटमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।








