काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘ मास्टर्नी ’ को प्रचार सामग्री (प्रोमोशनल गीत) मा महिला शिक्षकप्रति अमर्यादित शब्द र भाव प्रयोग गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख गरेको छ।

महासंघले सार्वजनिक भएको गीतमा महिला शिक्षकलाई लक्षित गरी प्रयोग गरिएका शब्द र प्रस्तुतीकरण तत्काल हटाउन तथा चलचित्रमा समेत त्यस्ता सामग्री प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। विज्ञप्तिमा शिक्षक पेसाको सम्मान कायम राख्न यस्ता सामग्री तुरुन्त सच्याइनुपर्नेमा जोड दिइएको छ।
महासंघले उक्त गीत यथावत् राखिए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थिति र परिणामप्रति चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने चेतावनी पनि दिएको छ। साथै, महिला शिक्षक तथा समग्र शिक्षण पेसाको मर्यादा कायम राख्न सबै सरोकारवालालाई संवेदनशील बन्न आग्रह गरेको छ।








