काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका ११ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै नदी तथा खोलानजिक बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले शुक्रबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुंगा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक तथा आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलाको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

निरन्तर वर्षाका कारण ती क्षेत्रका साना नदी तथा खोलामा आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। विशेषगरी नदी किनार, तटीय क्षेत्र तथा बाढी प्रभावित हुन सक्ने स्थानमा बसोबास गर्ने स्थानीय बासिन्दा, यात्रु र सरोकारवाला निकायलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।








