केशब श्रेष्ठ, धादिङ –काठमाडौ उपत्यकाको जुनसुकै स्थानबाट कवाडीजन्य सामग्री लोड भए पनि नागार्जुन नगरपालिकामा निकासी कर नतिरेको भन्दै कवाडी बोकेका सवारीसाधन रोक्ने, राजस्व कार्यालयमा पठाउने तथा व्यापारीलाई धाकधम्की दिएर त्रास सिर्जना गरिएको एक व्यवसायीले आरोप लगाएका छन्।
व्यवसायीका अनुसार यस कार्यमा प्रशासनिक संयन्त्रको दुरुपयोग भएको दाबी गर्दै काठमाडौं परिसरका एसएसपी दिलिप घिमिरे, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा दीपेश अग्रवालको नाम समेत उल्लेख गरेका छन्। यद्यपि, यी आरोपहरू सम्बन्धित निकायबाट पुष्टि भएका छैनन्।

उनले गत आर्थिक वर्षमा नागार्जुन नगरपालिकाको कवाडी निकासी कर संकलन ठेक्का प्रक्रियामा पनि अनियमितता भएको आरोप लगाएका छन्। व्यवसायीका अनुसार आर एण्ड आर ट्रेड कन्सर्न प्रा.लि.ले ७ करोड ३७ लाख रुपैयाँको प्रस्ताव पेश गर्दा निशान सप्लायर्सले ३ करोड ३९ लाख रुपैयाँको प्रस्ताव दिएको थियो। तर कम रकम प्रस्ताव गर्ने कम्पनीसँग नै ठेक्का सम्झौता गरिएको र यसबाट नगरपालिकालाई करिब ३ करोड ९८ लाख रुपैयाँ बराबरको सम्भावित आर्थिक क्षति पुगेको दाबी गरिएको छ।
व्यवसायीले सम्पूर्ण घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्बन्धित मन्त्रालय तथा अन्य सरोकारवाला निकायबाट निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्।








