काठमाडौं। पूर्व अरनिको यातायात कम्पनी लिमिटेडका अध्यक्ष केदार क्षेत्रीले कम्पनीको बनेपास्थित जग्गा बिक्री प्रकरणमा विवाद चर्किएपछि पदबाट राजीनामा दिएका छन्। उनको राजीनामापछि सञ्चालक समितिले विकासकाजी श्रेष्ठलाई नयाँ अध्यक्षमा नियुक्त गरेको छ।
कम्पनीको स्वामित्वमा रहेको करिब पाँच रोपनी जग्गा पर्याप्त सहमति र आवश्यक प्रक्रिया पूरा नगरी बिक्री प्रक्रिया अघि बढाइएको आरोप सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो। यस विषयमा बनेपामा बसेको कम्पनीका पूर्व अध्यक्ष, व्यवसायी तथा सरोकारवालाहरूको भेलाले जग्गा बिक्री प्रक्रिया रोक्न र निष्पक्ष छानबिन गर्न माग गरेको थियो।

विवाद तीव्र बनेपछि क्षेत्रीले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिनका लागि नैतिक जिम्मेवारीस्वरूप अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन्।
राजीनामापछि रिक्त रहेको अध्यक्ष पदमा विकासकाजी श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीले नयाँ नेतृत्वसँगै संस्थागत सुशासन, पारदर्शिता र व्यवसायीहरूको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गरेको छ।








