सिन्धुपाल्चोक -ब्रम्हायणी जलविद्युत आयोजनाले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत तेम्बाथान–तेगा–दिपु क्षेत्रका बासिन्दाको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले फट्के पुल निर्माण गरेको छ।
पुल सञ्चालनमा आएपछि स्थानीयवासीले लामो तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्। विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत निकै जोखिमपूर्ण हुने गरेको थियो। यसअघि स्थानीयले बोल्दे गुम्बा हुँदै करिब १० घण्टासम्म पैदल यात्रा गरेर गन्तव्य पुग्नुपर्ने अवस्था थियो।

नवनिर्मित फट्के पुलले यात्रा समय उल्लेखनीय रूपमा घटाएको छ भने स्थानीयको श्रम, समय र आर्थिक खर्चसमेत बचत भएको छ। पुलका कारण विद्यार्थी, ज्येष्ठ नागरिक तथा बिरामीलाई समेत आवतजावत गर्न सहज भएको स्थानीयको भनाइ छ।
स्थानीयवासीले आयोजनाको यस पहलको स्वागत गर्दै दुर्गम क्षेत्रमा यस्ता जनहितमुखी पूर्वाधार निर्माणले जनजीवन सहज बनाउन र समग्र जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।








