मेलम्ची नगरपालिका–१० बगुवाका ६६ वर्षीय किसान भीमप्रसाद दुलालको खेतमा थापिएको विद्युतीय पासो (करेन्ट) मा परेर दुःखद निधन भएको छ। बाँदरबाट अन्नबाली जोगाउन आफ्नै खेतबारीमा राखिएको करेन्टको धरापमा परेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
धानको बीउ राख्न तथा खेतको काम गर्न गएको क्रममा करेन्ट लागेर उनी ढलेका थिए। घरबाट करिब ५०० मिटर टाढा रहेको खेतमा मृत अवस्थामा भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। घटनापछि शवको पोस्टमार्टम गरी अन्त्येष्टि गरिएको छ।

यो घटना केवल दुर्घटना मात्र नभई बाँदरको बढ्दो आतङ्कबाट आजित किसानहरूको बाध्यताको प्रतीक बनेको छ। वर्षौंदेखि बाँदरले अन्नबाली नष्ट गर्दै आएपछि किसानहरू खेतबारी जोगाउन विभिन्न उपाय अपनाउन बाध्य छन्। प्रभावकारी विकल्प नहुँदा कतिपय किसानले विद्युतीय पासोसम्म प्रयोग गर्ने गरेका छन्, जसका कारण मानवीय क्षति समेत बढ्न थालेको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले वन्यजन्तु व्यवस्थापन र किसानको बाली सुरक्षाका लागि सरकारले तत्काल वैज्ञानिक, सुरक्षित र व्यवहारिक समाधान ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।








