सिन्धुपाल्चोक प्रहरीले तातोपानी नाकाबाट भन्सार छली गरी काठमाडौंतर्फ लैजाँदै गरिएको ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे नगरपालिका–३ खाडल क्षेत्रमा नियमित गस्तीका क्रममा शंकास्पद बोलेरो गाडी जाँच गर्दा ७ हजार ७ सय थान भेप फेला परेको हो।
बरामद गरिएका भेपको अनुमानित बजार मूल्य करिब रु. २ करोड ६९ लाख ५० हजार रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त सामान अवैध रूपमा ओसारपसार भइरहेको आशंकामा गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको थियो।

घटनामा संलग्न रहेको आरोपमा जुगल गाउँपालिका–४ निवासी ३६ वर्षीय रामकुमार श्रेष्ठलाई बोलेरो गाडीसहित पक्राउ गरिएको छ। पक्राउ परेका श्रेष्ठ तथा बरामद सामानलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले भन्सार छली तथा अवैध सामान ओसारपसार नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी र चेकजाँचलाई थप कडा बनाइएको जनाएको छ।








