रसुवा जिल्ला, नौकुण्ड गाउँपालिका–६ घोर्मु गाउँका पासाङ तामाङले सञ्चालन गर्दै आएको Cheese Plus Nepal आज नेपालका चर्चित चिज पसलमध्ये एकका रूपमा स्थापित भएको छ। करिब ६ वर्षअघि रु. १ लाख ५० हजार ऋण लिएर सुरु गरिएको यो व्यवसायको हालको बजार मूल्य ८० लाख रुपैयाँभन्दा बढी पुगेको बताइएको छ।
सुरुआतमा इलाममा उत्पादन हुने कञ्चन चिज र मोजारेला चिज मात्र बिक्री हुने यस पसलमा अहिले स्वदेशी तथा आयातित गरी २५ भन्दा बढी प्रकारका चिज उपलब्ध छन्। ग्राहकको माग निरन्तर बढ्दै गए पनि व्यवसाय सञ्चालनमा तामाङ, उनकी श्रीमती र कान्छो भाइ गरी तीन जना सक्रिय छन्। कोरोना महामारीअघि ट्रेकिङ गाइडका रूपमा कार्यरत तामाङ महामारीपछि पूर्ण रूपमा चिज व्यवसायमा केन्द्रित भए। उनका अनुसार व्यवसायका प्रारम्भिक २ वर्ष निकै चुनौतीपूर्ण थिए।

मासिक २० हजार रुपैयाँ भाडा तिर्दै ट्रेकिङसँगै व्यवसायलाई निरन्तरता दिएका उनले अहिले आफ्नो मेहनतको प्रतिफल पाउन थालेको बताए। Cheese Plus Nepal मा समुद्री सतहबाट करिब ३,९०० मिटर उचाइमा उत्पादन हुने उच्च गुणस्तरीय याक चिज उपलब्ध छ। तामाङका अनुसार यस्तो याक चिज उपलब्ध गराउने यो नेपालकै एक विशेष पसल हो। साथै, रसुवाको याक/चौँरीको दूधबाट बनाइने नरम याक छुर्पी पनि यहाँ पाइन्छ। रसुवाको दूधबाट उत्पादन हुने चिजको स्वाद अन्य क्षेत्रको भन्दा फरक र विशेष हुने उनको भनाइ छ।
काठमाडौंमा अन्य ठाउँको तुलनामा उचित मूल्यमा चिज उपलब्ध गराउँदै आएकाले पसल सामाजिक सञ्जालमा समेत viral बनेको छ। ग्राहकहरूको सकारात्मक प्रतिक्रिया र विश्वासका कारण Cheese Plus Nepal ले Google मा ४.८ रेटिङ प्राप्त गरेको छ। व्यवसायबाट भएको आम्दानीले उनको पारिवारिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। यही आम्दानीले आफ्ना सन्तानलाई राम्रो विद्यालयमा अध्ययन गराउन सहयोग पुगेको उनको भनाइ छ। हाल विभिन्न कम्पनीका उत्पादन बिक्री गर्दै आएका उनले भविष्यमा आफ्नै ब्रान्डको चिज बजारमा ल्याउने योजना रहेको बताए।
विदेश जाने सोच नआएको हो भन्ने प्रश्नमा तामाङले आफू २८ महिना कुवेत बसेर फर्किएको अनुभव सुनाउँदै भने, “विदेशमा जति मेहनत गरिन्छ, त्यही मेहनत नेपालमै गर्न सकियो भने विदेशभन्दा दोब्बर अवसर र आम्दानी यहीँ सम्भव छ।” व्यवसायसँगै तामाङ डिजिटल माध्यममा पनि सक्रिय छन्। उनले सञ्चालन गरेको Soltee Online TV युट्युब च्यानलमा करिब १२ हजार ५ सय सदस्य रहेका छन् भने Cheese Plus Nepal को टिकटक Id मा 16.3k भन्दा बढी फलोअर्स छन्। उनको दीर्घकालीन लक्ष्य याक चिजमार्फत रसुवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र यसका लागि स्थानीय उत्पादनको प्रवर्द्धन तथा आफ्नै ब्रान्ड विकासमा विशेष जोड दिने रहेको छ ।









