बलेफी गाउँपालिकाका आम नागरिकलाई स्वास्थ्य सेवामा सहज र सुलभ पहुँच सुनिश्चित गर्ने उद्देश्यले बलेफी गाउँपालिका र काठमाडौं मेडिकल कलेज, दुवाकोटबीच महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार गाउँपालिकावासीले स्वास्थ्य उपचार सेवामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
साथै, यही असार मसान्तसम्म अस्पतालबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवामा ५० प्रतिशत विशेष छुट उपलब्ध गराइने व्यवस्था समेत गरिएको छ। यसले ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा थप सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।

आज आयोजित एक विशेष कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ र काठमाडौं मेडिकल कलेज, दुवाकोटका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा नागरिक हितलाई केन्द्रमा राख्दै गाउँपालिकाले अघि सारेको यो पहललाई महत्वपूर्ण र स्वागतयोग्य कदमका रूपमा लिइएको छ। यस सहकार्यबाट बलेफी गाउँपालिकाका अधिकतम नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ।
यस महत्वपूर्ण सहकार्यका लागि पहल, समन्वय तथा योगदान पुर्याउनुहुने गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरू, Kathmandu Medical College परिवार तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै, यो सम्झौता गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारको महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।








