लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमवार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम एक हप्ताअघि मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो ।

पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । यद्यपि राई नेतृत्वको पार्टीले आधिकारिता पाएको छैन ।
नयाँ नियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिर रहेका छन्
चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । अहिर प्रदेश सभाको चार वर्षे कार्यकालमा यो समेत चौथो पटक मन्त्री बनेका हुन् ।








