सिन्धुपाल्चोकमा वैदेशिक रोजगारीका नाममा हुने ठगी, मानव बेचबिखन र असुरक्षित आप्रवासन न्यूनीकरणका लागि जिल्ला तहको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीका इन्चार्जहरूलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वैदेशिक रोजगारीमा जानुअघि पूरा गर्नुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, अनुमति प्राप्त म्यानपावर कम्पनीको छनोट, श्रमिकका अधिकार र उजुरी गर्ने निकायबारे विस्तृत सहजीकरण गरिएको थियो।

सहभागी प्रहरी अधिकृतहरूले वैदेशिक रोजगारीका क्षेत्रमा बढ्दो ठगी नियन्त्रण गर्न समुदायस्तरमै जनचेतना जगाउनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, सुरक्षित आप्रवासन र मानव बेचबिखन रोक्न प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
प्रहरी संयन्त्रलाई थप जिम्मेवार र सचेत बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमका सहभागीहरूले सिकेका कुरालाई स्थानीय समुदायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।








