सिन्धुपाल्चोक – बलेफी गाउँपालिका वडा नं. ५ ले नेपाली सेनाका क्याप्टेन संगम के.सी.लाई सम्मान गरेको छ। संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किनुभएको अवसरमा वडा कार्यालयमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो।
वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा क्याप्टेन केसीलाई मेहनती, अनुशासित तथा कर्तव्यनिष्ठ सैनिक अधिकृतका रूपमा गाउँपालिका र राष्ट्रको प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च राखेको भन्दै सम्मान गरिएको जनाइएको छ।

सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष यादव ठकुरी ले क्याप्टेन केसी गाउँ समाजका प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो। उहाँले राष्ट्रसेवा, अनुशासन र समर्पणको भावनाले नयाँ पुस्तालाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाको सहभागिताले विश्वमाझ नेपालको छवि उजागर गर्दै आएको उल्लेख गर्दै कार्यक्रममा सहभागीहरूले क्याप्टेन केसीको सफलताले बलेफी गाउँपालिकाको गौरव बढाएको बताएका थिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो।









