राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण तय भएको छ । भारतको विदेश मन्त्रालयको निमन्त्रणमा लामिछाने आगामी जुन १–२ (जेठ १८–१९) मा भारतको दुईदिने भ्रमणमा जान लागेका हुन् ।
‘सत्तारुढ दलको प्रमुखको हैसियतमा भ्रमणमा जाने कुरा तय भएको छ, बाँकी विषय सार्वजनिक गर्ने पार्टीको तयारी छ,’ रास्वपा निकट स्रोतले भन्यो ।

प्रधानमन्त्री बालेनको नभई सो पार्टीका प्रमुख लामिछानेको भारतको औपचारिक भ्रमणमा जाने तय भएको हो । सत्तामा आएपछि लामिछानेको यो पहिलो दक्षिणी छिमेक भ्रमण हुन लागेको छ ।
भ्रमणका क्रममा लामिछानेले उच्चस्तरीय भेटवार्ताहरू गर्नेछन् । रास्वपा स्रोतका अनुसार लामिछानेले भारतीय विदशेमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्रीसहित उच्च सरकारी अधिकारीहरू र सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेट गर्ने तय भइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि प्रयास भइरहेको भए पनि अझैँ निश्चित भएको छैन ।
भ्रमणका क्रममा लामिछाने भाजपा मुख्यालयको अवलोकन भ्रमणमा समेत जानेछन् । भाजपाले सत्तारुढ दलका प्रमुखहरूलाई भारत भ्रमणमा बोलाएर भाजपा मुख्यालयमा स्वागत गर्ने र पार्टीगत सम्बन्ध स्थापित गर्ने गरिरहेको छ ।








