नेपाल ज्योतिष परिषद्, जिल्ला कार्य समिति सिन्धुपाल्चोकले २०८३ सालको भित्ते पात्रो प्रकाशन गरेको छ। परिषद्का उपाध्यक्ष जितबहादुर पोखरेलका अनुसार पात्रोमा जिल्लाका प्रमुख धार्मिक स्थल, पर्यटकीय क्षेत्र तथा संस्थाले वर्षभरि सञ्चालन गरेका गतिविधि झल्कने तस्बिरहरू समावेश गरिएको छ।
उक्त भित्ते पात्रोमा दशैंमा टीका लगाउने मन्त्रदेखि दीपदान मन्त्र, विभिन्न मुहूर्तका तिथिमिति लगायतका महत्वपूर्ण जानकारी स्पष्ट रूपमा उल्लेख गरिएको छ। साथै, प्रत्येक महिनामा पर्ने विशेष पर्वका मन्त्रहरू समेटिनुका साथै तिथि, पञ्चक, सरुणको समय, बारवेला तथा घण्टा–मिनेटसम्मको विवरण राखिएको छ।

जिल्ला कार्य समिति सिन्धुपाल्चोकले बुधबार भित्ते पात्रोको विमोचनसँगै शुभकामना आदानप्रदान तथा ज्योतिषशास्त्रसम्बन्धी प्रशिक्षण कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रममा नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिव दीपक शर्मा दाहालको प्रमुख आतिथ्यता तथाबागमती प्रदेश अध्यक्ष विष्णु प्रसाद तिमिल्सिनाको विशेष आतिथ्यता रहेको थियो।
नेपाल ज्योतिष परिषद् सिन्धुपाल्चोकका अध्यक्ष नारायण दत्त ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।













