राष्ट्रिय संगीतकर्मी संघ काठमाडौं जिल्लाको अध्यक्षमा लोक तथा दोहोरी गायिका गुणकुमारी खतिवडा बानियाँ (पार्वती) निर्विरोध चयन भएकी छन्। राजधानी दोहोरी साँझ, माछापोखरीमा सम्पन्न संघको १० औं वार्षिक साधारणसभा तथा छैटौं महाधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो।
लोक गायक प्रकाश कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मुरली धिमाल, उपाध्यक्षमा दिनेश श्रेष्ठ र दीक्षा घिमिरे तथा महिला उपाध्यक्षमा सुमित्रा खड्का चयन भएका छन्। त्यसैगरी सचिवमा गणेश घिमिरे, सह–सचिवमा सुदर्शन अधिकारी र कोषाध्यक्षमा सविता खड्का निर्वाचित भएका छन्।

नव निर्वाचित कार्यसमितिका सदस्यहरूमा विनोद गोतामे, कविता राई, राम थापा, कान्ति जोशी, मिरा तामाङ, रोजिना पुडासैनी लगायत रहेका छन्।
यसअघि पाँचौं अधिवेशनबाट म्युजिक भिडियो निर्देशक तथा कलाकार निरेन श्रेष्ठ अध्यक्ष रहेका थिए। अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई संघका परिकल्पनाकार तथा वरिष्ठ गायक घमेश दुलालले पद तथा गोपनीयताको शपथ गराएका थिए।
कार्यक्रममा निवर्तमान अध्यक्ष निरेन श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। त्यस्तै केन्द्रीय अध्यक्ष तथा वरिष्ठ गायक प्रकाश कटुवालले कलाकारिता क्षेत्रमा देखिएका नकारात्मक प्रवृत्तिलाई सुधार गर्दै कलाकारको सम्मान र मनोबल उच्च राख्न आग्रह गरे।
कार्यक्रमका अवसरमा पत्रकार तथा सञ्चारकर्मी दिनेश भण्डारी, दीपक कार्की र शिवराम भण्डारीलाई सम्मान गरिएको थियो।








