केही दिनअघि देखि अवरुद्ध रहेको अरनिको राजमार्गअन्तर्गत तातोपानी सडक खण्ड आजदेखि पुनः सञ्चालनमा आएको छ। केही दिनअघि गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको उक्त सडक खण्ड सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद भरत प्रसाद पराजुली र सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण दत्त भट्टराईबीच भएको छलफलपछि खुलाइएको हो।
छलफलमा ईको भिर क्षेत्रमा गएको पहिरोलाई व्यवस्थित गर्ने र तत्कालका लागि सडक सञ्चालनमा ल्याउने सहमति भएको थियो। सोही सहमतिअनुसार तीव्र रूपमा काम अघि बढाइएपछि आजबाट सवारी आवागमन सुचारु भएको हो। अहिले उक्त क्षेत्रमा पहिरो नियन्त्रण तथा स्थायी समाधानका लागि निरन्तर काम भइरहेको सम्बन्धित निकायले जनाएको छ।

यसैबीच, पहिरो प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको सांसद पराजुलीले जानकारी दिनुभयो। प्रभावित नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारसँग आवश्यक समन्वय भइरहेको पनि उहाँले बताउनुभयो।
दीर्घकालीन समाधानका लागि अरनिको राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको सडकका रूपमा स्तरोन्नति गर्ने योजना अघि बढाइएको छ। यसअघि ठेक्का सम्झौता भएका आयोजनाहरूलाई निरन्तरता दिने तथा आवश्यक स्थानमा नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारीसमेत भइरहेको छ।













