काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ। फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनअन्तर्गत युवा उपाध्यक्ष पदमा भीमसेन थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ।
पोर्चुगलबाट सक्रिय नेतृत्व गर्दै आउनुभएका थापाले संगठनात्मक रूपान्तरण, आईसीसी पदाधिकारीको प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने, युवाको सार्थक सहभागिता बढाउने र संस्थागत एकता मजबुत बनाउने एजेन्डा अघि सार्नुभएको छ। पोर्चुगलमा बसोबास गर्दै आउनुभएका थापा सफल व्यवसायी तथा समाजसेवीका रूपमा परिचित हुनुहुन्छ। उहाँले हस्पिटालिटी, कृषि तथा निर्माण क्षेत्रमा युरोप र नेपालमा लगानी गर्दै आउनुभएको छ।

यसअघि २०७२ सालको भूकम्पका बेला सिन्धुपाल्चोकसहित विभिन्न जिल्लामा राहत तथा सहयोग अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थापाले कोभिड–१९ महामारीका समयमा पनि सहयोग अभियान सञ्चालन गर्नुभएको थियो। आफू पदका लागि होइन, सेवाका लागि उम्मेदवारी दिएको उहाँको भनाइ छ।
आगामी निर्वाचनले एनआरएनएको भावी दिशा तय गर्ने भएकाले थापाको उम्मेदवारीलाई युरोपस्थित नेपाली समुदायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा संस्थागत रूपमा स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ। उहाँले गैरआवासीय नेपाली तथा अभियन्ताहरूसँग साथ, समर्थन र सुझावको अपेक्षा गर्नुभएको छ।
युवालाई नीतिनिर्माण र नेतृत्व तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ। युरोपमा रहेका युवा पेशाकर्मी, विद्यार्थी तथा उद्यमीलाई एउटै सञ्जालमा आबद्ध गरी सीप, स्रोत र अनुभवको समन्वय गर्ने योजना उहाँले अघि सार्नुभएको छ। निर्वाचित भए युरोपवासी नेपालीहरूको सुझावका आधारमा साझा कार्ययोजना अघि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार अध्यक्ष पदका लागि रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) चुनावी मैदानमा छन्। महासचिव पदका लागि चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) ले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी ६ जना उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षका आकांक्षीहरूमा ददिबल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बानियाँ, रोजिना प्रधान राई र रोशन थापा रहेका छन्।
महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ भने युवा उपाध्यक्ष पदमा भीमसेन थापा, मदनराज पौडेल र ओमान गौचनबीच प्रतिस्पर्धा हुने भएको निर्वाचन समितिले जनाएको छ।












