काठमाडौँ। दोस्रो शहीद मानबहादुर स्मृति कपको उपाधि वडा नं ९ ले जितेको छ। रोमाञ्चक फाइनल खेलमा वडा नं ५ लाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै वडा नं ९ ले च्याम्पियन बनेको हो।
निर्धारित समय खेल १–१ गोलको बराबरीमा सकिएको थियो। खेलमा सुरुवाति अय्रता वडा नं ९ ले लिएको थियो। त्यसपछि वडा नं ५ ले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गोल फर्काएको थियो। निर्धारित समय र थप समयसम्म पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

यसअघि सेमिफाइनलमा वडा नं ५ ले साबिक विजेता वडा नं १ लाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। त्यस्तै, वडा नं ९ ले वडा नं ७ लाई ६–३ गोलले हराउँदै उपाधि नजिक पुगेको थियो।
वडा नं ५ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने वडा नं ९ समूह ‘बी’ को विजेता बनेर अन्तिम चारमा पुगेको थियो।
प्रतियोगिताको विजेता वडा नं ९ ले नगद रु. १,५१,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं ५ ले रु. ७५,५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
माघ ३ गतेबाट सुरु भएको प्रतियोगिता लिगकम नकआउट प्रणालिमा भएको थियो।






