काठमाडौँ । नेपाली लोक तथा दोहोरी संगीत आकाशका चम्किला नक्षत्र बसन्त शाहीले आफ्नो पछिल्लो सांगीतिक कोशेली ‘छुट्नै भो गाह्रो’ सार्वजनिक गरेका छन्। दर्जनौँ चर्चित गीतहरूमार्फत दर्शकको मन जितिसकेका शाहीले यसपटक पनि आफ्नै संगीत र स्वरमा उत्कृष्ट सिर्जना बजारमा ल्याएका हुन्।
नेपाली सुगम तथा लोक संगीतमा बसन्त शाही एउटा स्थापित नाम हो। यसअघि उनका ‘पछ्यौरी तानेर’, ‘लेकको चरी’, ‘त्रिसुली बजार’, ‘माया धेरै होस्’, ‘खोली बगर’ र ‘लेकै गुराँस बेसीमा टुनी’ जस्ता गीतहरूले सांगीतिक बजारमा निकै चर्चा कमाएका थिए। उल्लेखित गीतहरूको सफलताले शाहीलाई भर्सटाइल गायक र कुशल संगीतकारको रूपमा स्थापित गरिसकेको छ।

नयाँ गीत ‘छुट्नै भो गाह्रो’ मा शाहीलाई गायिका प्रिया सेन्चुरी र जीवन गडाइलीले गायनमा साथ दिएका छन्। अशोक कुमार सापकोटाको शब्द रहेको यस गीतमा शाहीले मौलिक लय भरेका छन्। नारायण दंगालको एरेन्ज र मनोज परियारको मिक्सिङले गीतलाई श्रुतिमधुर बनाएको छ।
भिडियोमा चर्चित मोडल करिश्मा ढकाल,सरोज गडाईली, सुमन बिसी र शिर्जना गदालको आकर्षक नृत्य र अभिनय देख्न सकिन्छ। मिलन श्रेष्ठको निर्देशन र अमर एमएक्सको कोरियोग्राफी रहेको भिडियोलाई सन्तोष तिमल्सिनाले खिचेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन्।
पछिल्लो समय मौलिक लोक भाकाहरू हराउँदै गएको चिन्ता व्यक्त भइरहेका बेला शाहीले पुनः एकपटक ठेठ नेपाली स्वादको गीत ल्याएर लोक संगीतको जगेर्ना गर्ने प्रयास गरेका छन्। अघिल्ला गीतहरू झैँ यो गीतले पनि युट्युब र टिकटक जस्ता प्लेटफर्ममा छोटो समयमै रेकर्ड राख्ने अपेक्षा गरिएको छ।
हेर्नुस भिडियो……













