सिन्धुपाल्चोक । नेपाली लोकगीत तथा दोहोरी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आफ्नो विशेष सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन एवं जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। २०८२ साल कात्तिक २२ गते, शनिबार, बिहान ११:०० बजे , ईन्द्रावती गाउँपालिका-७, सिन्धुपाल्चोकमा हुने भएको हो।
प्रतिष्ठानले “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको संरक्षण, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको यस कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय युवराज दुलालले गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा विशिष्ट अतिथिहरूको पनि उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ, जसमा माननीय अमृता नेपाल, झम्क नेपाल, पुरुषोतम थापा, रविन्द्र खाती, शशीनाथ आचार्य, क्षेत्र ब. तामाड, डिल ब. श्रेस्ठ, बल ब. गुरुङ, राजेन्द्र भण्डारी लगायत नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामको समेत विशेष उपस्थिति रहनेछ।
यसका साथै प्रतिष्ठानका पदाधिकारी, स्थानीय कलाकार, लोक संगीत प्रेमीहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रमलाई भव्यरुपमा सफल बनाइदिनका लागि प्रतिष्ठानकी अध्यक्ष राधिका ढकालले सम्पूर्ण सरोकारवालाहरूलाई सहभागी हुन आग्रह गरेकी छन्।अध्यक्ष ढकालका अनुसार धेरै महानुभावहरूलाई निमन्त्रणा पत्र पठाइसकिएको छ।
‘कलाकारहरुको साधारणसभामा सहभागीता जनाएर सफल बनाइदिन हामीले धेरै महानुभाव ज्यूहरूलाई निमन्त्रणा पत्र पठाइसकेका छौँ, केहीलाई व्यस्तताको कारण पठाउँनै बाँकी पनि छ,’ अध्यक्ष राधिका ढकालले भनिन्, ‘समय अझै छ, सम्झेर पठाउने छौँ, यद्यपि कोही छुट्न पुगेमा यही समाचारको आधारमा पनि सहभागी हुन आग्रह गर्दछु।’
यस महत्त्वपूर्ण कार्यक्रममा सहभागी भई लोक संस्कृति र दोहोरी गीतको संरक्षण अभियानमा हातेमालो गर्न अध्यक्ष ढकालले सबैमा हार्दिक अनुरोध गरेकी छन्।




