सिन्धुपाल्चोक।सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ४ करङगैरामा रहेको श्री करङगैरा आधारभूत विद्यालयले आफ्नो २६ औँ बार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोह भव्यताका साथ सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बलेफी–४ का वडा अध्यक्ष सुर्जे तामाङको अध्यक्षतामा आयोजित उक्त समारोहमा बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभयो। कार्यक्रममा पूर्व वडा अध्यक्ष काली प्रसाद लामा, निर्वाचित जनप्रतिनिधिहरू, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू लगायत शिक्षाप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

बार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले विभिन्न आकर्षक साँस्कृतिक प्रस्तुतिहरू देखाएका थिए। उनीहरूले परम्परागत तथा आधुनिक गीत–नृत्य प्रस्तुत गर्दै उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।
प्रमुख अतिथि गंगा बहादुर तामाङले विद्यालयले शैक्षिक उन्नयनमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिकाबाट थप सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, अध्यक्ष तामाङले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र पूर्व विद्यार्थीहरूलाई हातेमालो गर्न आग्रह गर्नुभयो।
अध्यक्ष सुर्जे तामाङले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सबै सरोकारवालाहरूको सहयोगको अपेक्षा गर्दै विद्यालयलाई नमूना बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो।







