काठमाडौं: नेपाली गीतसंगीत र साहित्यको संगमको रूपमा चिनिएको ‘चौथो काव्य म्युजिक अवार्ड २०८२’ असोज ५ गते हुने भएको छ। ‘गीत, संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ काव्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको संयुक्त प्रस्तुतिमा यो अवार्ड कार्यक्रम आयोजना हुन लागेको हो।
कार्यक्रमका संयोजक रमेश श्रेष्ठले यसअघिका तीनवटा संस्करण भव्य रूपमा सम्पन्न भइसकेको जानकारी दिएका छन्। चौथो संस्करणमा पनि राष्ट्रिय, चलचित्र, आधुनिक, लोकदोहोरी र पप आधुनिक गरी विभिन्न विधामा देशभरका कलाकर्मीहरूको सहभागिता रहनेछ।

नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखि अतुलनीय योगदान पुर्याएका विशिष्ट व्यक्तिलाई कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजक संस्था काव्य म्युजिक सेन्टरका अनुसार, नेपाली कला क्षेत्रमा कलम चलाएर सहयोग पुर्याउने पत्रकारहरूलाई समेत अवार्ड समारोहमा सम्मान गरिनेछ।




