सिन्धुपाल्चोक । जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो सिन्धु १०५ मेगाहर्ज करिब ढाई महिनापछि पुनः प्रसारणमा फर्किएको छ। असार २२ र २४ गते चट्याङ प्रहारले सम्पूर्ण उपकरण नष्ट भएपछि प्रसारण अवरुद्ध भएको थियो।
रेडियो सञ्चालक समितिकी कोषाध्यक्ष दिलमाया खड्काका अनुसार चट्याङका कारण करिब ३० लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो। त्यसपश्चात समुदायस्तरमै सहयोग संकलन अभियान सञ्चालन गरेर ७० दिनमा १२ लाख ४० हजार रुपैयाँभन्दा बढी जुटाइएको उनले बताइन्। साथै, चौतारास्थित सेवा कम्युटर सेन्टरले २ थान कम्प्युटर सेट र ब्रोडकाष्ट ग्रुपले १ थान अडियो मिक्चर सहयोगस्वरूप उपलब्ध गराएको रेडियोले जनाएको छ।

रेडियो अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जारी गरेको विज्ञप्तिमा स्थानीय समुदाय, स्रोता र शुभेच्छुकको साथका कारण रेडियो पुनः सञ्चालन सम्भव भएको उल्लेख छ। उनले ७१औं दिनदेखि परिमार्जनसहित प्रसारण सुरु भएको जानकारी दिएका छन्।
७० दिनसम्म प्रसारण अवरुद्ध हुँदा श्रोतामाझ परेको असुविधाप्रति क्षमा माग्दै रेडियोले अब अझ परिष्कृत सामग्री, स्तरीय कार्यक्रम र सामुदायिक आवाजलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।