पितृवियोग, गरिबी र संघर्षलाई जितेर प्रहरी इन्स्पेक्टर बनेका विक्रान्त तामाङ

काठमाडौं -विक्रान्त तामाङ, एक गरिब परिवारमा जन्मिएर पिताको माया नपाई आमाकै काखमा हुर्किएका बालक, जीवनका कठिन मोड पार गर्दै नेपाल प्रहरीको इन्स्पेक्टर बन्न सफल भएका छन्। यो केवल व्यक्तिगत उपलब्धि होइन—समाजका लागि प्रेरणाको स्रोत हो।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ मा २०५१ सालमा जन्मिएका विक्रान्तले आठ महिनाको उमेरमै पितालाई गुमाए। आमाको ममतामय संघर्ष र बलिदानकै भरमा उनले टालटुल लगाएर स्कुल जानेदेखि शिक्षण गरेर प्लस टु र स्नातक पढ्नेसम्मको यात्रा तय गरे।

शिक्षक भएर काम गर्दै उनले जलवीरे भ्याली क्याम्पसबाट स्नातक गरेपछि काठमाडौं आइपुगे। २०७२ सालमा प्रहरी सहायक निरीक्षक (ASI) बनेपछि जागिर गर्दै–गर्दै मास्टर डिग्रीसम्म पढाइ पुरा गरे।

२०७८ सालमा उनले पहिलो पटक प्रहरी निरीक्षक पदका लागि लोकसेवा परीक्षा दिए परीक्षा उत्तीर्ण गरे तापनि दुर्भाग्यवश सिफारिस हुन सकेनन्। तर त्यो असफलता अन्त्य थिएन—त्यो त नयाँ सुरुवातको आधार बन्यो। ट्राफिक प्रहरीको व्यस्त ड्युटीबीच पनि पढाइ नछोडेका विक्रान्तले पहिलो प्रयासमा सिफारिस नभए पनि हार मानेनन्। दोस्रो प्रयासमा, २०८२ सालमा, स्व–अध्ययनकै भरमा प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भए।

हाल उनी नेपाल प्रहरी विशेष सुरक्षा गण वेलचौतारा, तनहुँमा दरबन्दीमा रहे पनि काजमा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन्।

उनले भनेका छन्, “हिजो मिश्री र पानीले खाजा टार्ने बालक, आज समाजको सेवा गर्ने अफिसर बनेको छु—यो आमाको माया र संघर्षको उपज हो।”

विक्रान्तका जीवनका प्रत्येक पाइलाले देखाउँछ—सपना देख्न पैसाको होइन, आँट र आत्मविश्वासको आवश्यकता पर्छ।विक्रान्त तामाङ जस्ता पात्रहरूले प्रमाणित गर्छन् कि अप्ठ्यारा परिस्थितिले होइन, दृढ निश्चय, इमान र मिहिनेतले मानिसकोभविष्य बनाउँछ।

उनको भनाइ छ—“जहाँ संघर्ष छ, त्यहीं सम्भावना पनि लुकेको हुन्छ। अवसरले हामीलाई खोज्दैन, हामीले नै अवसर खोज्नुपर्छ।”

विक्रान्तको संघर्षले देखाउँछ—सपना पुरा गर्न पैसाको होइन, आत्मविश्वास र मिहिनेतको खाँचो हुन्छ।उनको जीवन आजका युवाका लागि प्रेरणाको उज्यालो किरण हो।

प्रतिक्रिया
सम्बन्धित खवर