काठमाडौं – “माया न जात हेर्छ, न हैसियत नाप्छ” भन्ने भावनामा आधारित मार्मिक प्रेमकथा बोकेको नयाँ म्यूजिक भिडियो ‘हाउ लुङ्गवा’ सार्वजनिक भएको छ। गरिब घरकी छोरी र धनी परिवारका छोराबीचको प्रेम, त्यसमा आउने सामाजिक भेद, दूरी र समयका सन्धिहरू पार गर्दै पुनर्मिलनमा टुंगिने कथावस्तुले यो भिडियोले दर्शकलाई भावनात्मक रूपमा बाँध्न सफल भएको छ।
गीतमा गायक सन्तोष बीसी र गायिका मानमावि राईको भावपूर्ण स्वर, सन्तोषकै संगीत र नारायण दङ्गालको एरेञ्जले गीतलाई संगीतात्मक उचाइ दिएको छ। भीम कुमार ओझाको मन छुने शब्दहरूले मायाको गहिरो अनुभूति र त्यागलाई प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्।

भिडियोमा गीतकार भीम कुमार ओझा स्वयं, उनकी जीवनसंगीनी देवी ओझा, साथै गायक सन्तोष बीसी, मानमावि राई र लीला थापा मगरले अभिनय गरेका छन्। उनीहरूको अभिनयले कथालाई जीवन्त बनाएको छ भने भिडियोको छायांकन, निर्देशन र सम्पादन पनि अत्यन्त आकर्षक र भावनात्मक छ।
‘हाउ लुङ्गवा’ माया जात, वर्ग, धर्म र सिमानाभन्दा ठूलो हुन्छ भन्ने सन्देश दिने कलात्मक र सांगीतिक प्रस्तुति हो। अहिले यो म्यूजिक भिडियो Bhimkumar Official युट्युब च्यानलमा उपलब्ध छ। स्रोता तथा दर्शकहरूले भिडियो हेरेर आफ्नो अमूल्य प्रतिक्रिया दिन सक्नेछन्।
हेरौं, सुन्नुहोस्, र अनुभूत गरौं— मायाको साँचो अर्थ !




