मिलन श्रेष्ठ: निर्देशन, गायन र सिर्जनाको त्रिवेणी

काठमाडौं : नेपाली संगीत र कलाकारिता क्षेत्रमा ख्याति कमाएका निर्देशक, गायक, र सर्जक मिलन श्रेष्ठको जन्म नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, सुनखानीमा भएको हो। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ चलचित्र कलाकार संघको केन्द्रीय सदस्य तथा राष्ट्रिय संगीत कलाकार संघको केन्द्रीय कोषाध्यक्षको रूपमा कार्यरत छन्।

श्रेष्ठले आफ्नो करियरमा लोकदोहोरी, आधुनिक, पप, राष्ट्रिय भाव, तामाङ सेलो, भजन लगायतका विभिन्न विधामा २,००० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। “ए है काली,” “ओई गनगन,” “सानुमाया,” “हे माया,” “पछ्यौरी तानेर,” “फूल फुल्यो अमला” लगायत उनका निर्देशनमा बनेका थुप्रै गीत सर्वाधिक चर्चामा रहेको  छन्। उनका म्युजिक भिडियोहरू कथावस्तु र प्रस्तुतिको हिसाबले मौलिक र सशक्त हुने भएकाले नेपाली संगीत उद्योगमा छुट्टै पहिचान बनाउन सफल भएका छन्।

श्रेष्ठ आफ्नो निर्देशनमा नवीन सोच, समयसापेक्ष प्रविधिको उपयोग, तथा कलाकारको भावनात्मक प्रस्तुति समावेश गर्न अग्रसर छन्। उनी म्युजिक भिडियोलाई सामान्य प्रस्तुतिबाट फरक पारेर कथानक शैलीमा निर्माण गर्ने निर्देशकहरूमध्ये एक हुन्। यसैले, उनका अधिकांश भिडियोहरू दर्शक तथा संगीतप्रेमीहरू माझ लोकप्रिय हुने गरेका छन्।

श्रेष्ठको योगदानलाई कदर गर्दै विभिन्न संघसंस्थाहरूले उनलाई थुप्रै अवार्ड तथा सम्मान प्रदान गरिसकेका छन्। केही दिनअघि मात्र सम्पन्न ‘पाँचौं एपिक नेपाल म्युजिक अवार्ड २०८१’ मा उनी सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड जित्न सफल भए।

श्रेष्ठ नेपाली संगीत उद्योगको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। उनी निर्माता, निर्देशक, कलाकार, र मिडियाकर्मीहरूका लागि प्रेरणादायी व्यक्तित्व हुन्। उनी राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय उपाध्यक्ष तथा  ‘मिलन फिल्मस् प्रा. लि.’ तथा ‘म्यूजिक प्लस’ जस्ता उत्पादन कम्पनीहरू सञ्चालन गर्दै आएका छन्।

संगीत क्षेत्रप्रतिको उनीप्रतिको समर्पण, मिहिनेत, र नवप्रवर्तनशील सोचले गर्दा उनी दिन-प्रतिदिन म्युजिक भिडियो निर्देशनमा व्यस्त देखिन्छन्। उनी दर्शक तथा बजारको माग अनुसार भिडियोमा नवीन कथा समेट्ने प्रयास गर्दै अरू म्युजिक भिडियो निर्देशकहरूभन्दा पृथक कार्यशैली अपनाइरहेका छन्। नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उनको प्रयास सराहनीय छ।

प्रतिक्रिया
सम्बन्धित खवर