काठमाडौं – पाँचौं एपिक नेपाल म्युजिक अवार्ड २०८१ सांस्कृतिक सहर मध्यपुर थिमीस्थित दुई पोखरी परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ नाराका साथ आयोजित कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट सर्जक, कलाकार तथा संगीतकर्मीलाई सम्मान गरियो।
कार्यक्रमको प्रमुख अतिथि प्रथम महिला राधिका शाक्य थिइन् भने आयोजक संस्थाका अध्यक्ष एमन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद महेश दाहाल, थिमी नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ, अभिनेता शिव श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलगायतको उपस्थिति रहेको थियो।

३२ विधामा प्रदान गरिएको अवार्ड अन्तर्गत लाइफटाइम एचिभमेन्ट अवार्ड कलाकार बसुन्धरा भुसाललाई नगदसहित प्रदान गरियो। पत्रकारद्वय ऋषि धमला र ऋषि थपलियालाई पनि नगद राशीसहित सम्मान गरियो।
लोकदोहोरी गायकतर्फ अमृत खाती ‘ऊनीको पछ्यौरी’ र गायिकातर्फ सुष्मा शाही ठकुरी ‘एकै रातैले’ उत्कृष्ट घोषित भए। लोकदोहोरी शब्द सुमन वैरागी ‘पीपलबोटे माया’ र लय रमेश परियार ‘वनमा खयर’ उत्कृष्ट भए। पुरुष मोडेल विमल अधिकारी र महिला मोडेल अस्मिता पुरी भिडियो निर्देशक मिलन श्रेष्ठ र नृत्य निर्देशक दीपेन्द्र तिमल्सिनाले हात पारे ।
सर्वोत्कृष्ट आधुनिक गायक कर्णराज गिरी ‘लुकीलुकी’, गायिका शोभा पाण्डे ‘ए मन भन मलाई’, संगीतकार दीपक शर्मा ‘लुकाउने ठाउँ नै छैन’ भए। सर्वोत्कृष्ट चलचित्र गायक डेभिड शंकर ‘दर्शन सलाम’ बने।
लोकदोहोरी गायक रामजी खाँडले वर्षकै सर्वोत्कृष्ट अवार्ड जिते। जुरी अवार्डतर्फ सुनिता भुजेल ‘नवपप गायक’, टेकराज ओझा, हुमन आचार्य, दीपिका थापा, डीआर सुजन, अभि सुनार सम्मानित भए।
कार्यक्रममा नेवारी नृत्य प्रस्तुत गरिएको थियो भने गायक धीरज राई, अमृत खातीलगायतका कलाकारको प्रस्तुति रहेको थियो। अवार्ड सफल बनाउन विभिन्न नगरपालिका, चलचित्र विकास बोर्ड, नेपाल टेलिकम, नबिल बैंक, ग्लोबल आइएमई बैंकको सहकार्य रहेको थियो।




