पूर्वगृहमन्त्री बादलका छाेरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका उनलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले आज पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो। आदेशमा शरणार्थी प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने उल्लेख छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको बताए।

उनीमाथि नक्कली शरणार्थी बनाउन बिचौलियाको भूमिका खेलेको आरोप छ।  उनलाई प्रहरीले गएको शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो।

उक्त प्रकरणमा यसअघि नै एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन् भने कांग्रेस नेता बालकृष्ण खाँण धरौटीमा रिहा भएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर