काठमाडौं उपत्यकामा आजबाट खानयोग्य प्रमाणित भई ‘स्वस्थ मासु’ को छाप लगाइएको मासु मात्र बिक्री–वितरण गर्न पाइने भएको छ। ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ जारी भएको २८ वर्षपछि आजदेखि कार्यान्वयनमा आएको छ। सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका २१ वटै स्थानीय तहमा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई पूर्णरूपमा कार्यान्वयनमा ल्याएको हो।
यस अगाडि सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशित गरी देशभर तीन चरणमा ऐन लागु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। उपभोक्तालाई स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले ल्याइएको ऐन कार्यान्वयनमा आएसँगै जथाभाबी पशु बध गर्न र मासु बेच्न नपाइने कानुनी व्यवस्था छ। तोकिएको वधशालामा पशुबध गर्नुअघि र बध गरिसकेपछि पशु चिकित्सक र प्राविधिकबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने छ।
बागमती प्रदेश सरकारले उपत्यकाका २१ पालिकाका लागि २३ सुपरिवेक्षक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। दशैं-तिहारको बिदा भएकाले निर्णय कार्यान्वयन हुन भने बाँकी छ। मन्त्रीस्तरीय निर्णय अनुसार पहिले २२७ र पछि १३ थप गरी कुल २४० मासु निरीक्षकलाई आवश्यक तालिम दिएर छाप तथा लजिस्टिक सामग्री सहित तयारी अवस्थामा राखिएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिए।













