सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ। जिल्लामा यसअघि निर्धारित समयमा अधिवेशन हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले शुक्रबारका लागि नयाँ मिति तय गरेको थियो।
जिल्ला सभापति पदका लागि पाँच जना उम्मेदवार चुनावी मैदानमा छन्। सभापतिका उम्मेदवारमा रास्वपा सिन्धुपाल्चोककी संस्थापक सभापति माया गुरुङ, कमला खड्का, कुमार श्रेष्ठ, पासाङ तामाङ र दिलराम श्रेष्ठ रहेका छन्। गुरुङ यसअघि फागुन २१ गतेको निर्वाचनपछि पार्टीबाट राजीनामा दिएर निष्क्रिय भएकी थिइन्। जेठ २४ गते तय भएको अधिवेशनमा उम्मेदवारी नदिएकी उनी अधिवेशन स्थगित भएपछि पुनः सभापतिको प्रतिस्पर्धामा उत्रिएकी हुन्।

उपसभापति पदका लागि सरोजा श्रेष्ठ, मुके शेर्पा र निमा याङछेन शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ। सचिवमा राजीव हमाल निर्विरोध निर्वाचित भएका छन् भने सहसचिवमा विदुर खड्का र दोर्जे लामाबीच प्रतिस्पर्धा छ।
सदस्य पदका लागि नौ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नं. १ को सभापतिमा दुई जना प्रतिस्पर्धामा छन् भने क्षेत्र नं. २ मा प्रह्लाद अर्याल निर्विरोध निर्वाचित भएका छन्। चौतारामा भइरहेको मतदानमा जिल्लाभरबाट २९७ मतदाता सहभागी छन्।








