काठमाडौं-नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सम्पन्न गरेको छ। सबै प्रदेश, सम्पर्क समन्वय समिति, जनसंगठन तथा केन्द्रीय विभाग र निकायबाट प्राप्त सुझावका आधारमा आगामी निर्णय लिने तयारी पार्टीले गरेको छ।
सुझाव संकलन अभियानका लागि उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरू विभिन्न प्रदेशमा खटिएका थिए। काठमाडौंमा सम्पन्न बागमती, राजधानी विशेष, सम्पर्क समन्वय, जनसंगठन तथा केन्द्रीय विभागको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं सहभागी भएका थिए।

सुझाव संकलनका क्रममा अध्यक्ष ओलीले आफूले नेतृत्व नछोड्ने स्पष्ट संकेत दिएका नेताहरूको दाबी छ। उनले आफूले कुनै गल्ती नगरेको र नेतृत्व परिवर्तनको माग स्वीकार्य नहुने धारणा राख्दै सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध गतिविधि गर्ने तथा अनुशासनविपरीत काम गर्नेहरूमाथि कारबाही हुने चेतावनी दिएका थिए।
यद्यपि तल्ला कमिटीका अधिकांश नेताहरूले भने पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन्। जनसंगठन र जिल्ला तहबाट आएका धेरै सुझावमा निर्वाचन पराजयको गम्भीर समीक्षा गर्दै नेतृत्वदेखि संगठन संरचनासम्म पुनर्गठन गर्नुपर्ने धारणा राखिएको स्रोतले जनाएको छ। केही नेताहरूले नेतृत्वको कार्यशैलीमाथि समेत प्रश्न उठाउँदै जिम्मेवारी र जवाफदेहिताको विषयलाई जोड दिएका छन्।
महासचिव शंकर पोखरेलले सुझावहरूको अन्तिम प्रतिवेदन तयार गरिरहेका छन्। उक्त प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी थप छलफल गरिने तयारी रहेको छ। तर सुझाव संकलन अभियानभर नेतृत्व र पुनर्गठन पक्षबीच देखिएको मतभेदका कारण प्रतिवेदन सर्वसम्मत हुने सम्भावना कम रहेको नेताहरूको भनाइ छ।
शनिबार च्यासलमा आयोजित पार्टी जागरण अभियानको उद्घाटन कार्यक्रममा पनि अध्यक्ष ओली र महासचिव पोखरेलबीच पार्टीको वर्तमान अवस्थाबारे फरक–फरक धारणा सार्वजनिक भएपछि एमालेभित्र नेतृत्व र पुनर्गठनको बहस अझ तीव्र बनेको संकेत देखिएको छ।








