सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–५ ले बालमैत्री स्थानीय शासन वडा घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा पहिलो वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ।
बलेफी गाउँपालिकाभित्र सबैभन्दा पहिले बालमैत्री स्थानीय शासन वडा घोषणा हुने वडा नं. ५ ले बालबालिकाको सहभागितामा सांस्कृतिक तथा रचनात्मक कार्यक्रम आयोजना गर्दै आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो।

कार्यक्रम गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङको प्रमुख आतिथ्य तथा वडा नं. ५ का अध्यक्ष यादव ठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले बालमैत्री स्थानीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
वार्षिकोत्सवका अवसरमा बालबालिकाले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य तथा सिर्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा बालअधिकार संरक्षण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा र बाल सहभागिता प्रवर्द्धनमा वडा नं. ५ ले हासिल गरेका उपलब्धिबारे समेत चर्चा गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, स्थानीयवासी तथा बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बालमैत्री अभियानलाई निरन्तरता दिँदै वडा नं. ५ लाई बालबालिकाका लागि अझ सुरक्षित, समावेशी र नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।









