काठमान्डौं-नेपाली कला क्षेत्रमा विगत केही समयदेखि सक्रिय रहँदै दर्शकहरूको मन जित्न सफल काभ्रेकी चेली अम्बिका ढकाल हालै सम्पन्न पाँचौँ काव्य म्युजिक अवार्ड–२०८३ मा “काव्य कला सम्मान” बाट सम्मानित भएकी छन्।
नेपाल चलचित्र विकास बोर्डको सभाहल, चाबहिलमा आयोजित भव्य समारोहमा चर्चित नेपाली चलचित्रका खलनायक कलाकार मुकुन्द थापा, राज कार्की तथा बिनोद ढकाल को हातबाट उनले सम्मान ग्रहण गरेकी हुन्।

सम्मान प्राप्तिपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले यस सम्मानले आफूलाई अत्यन्त खुसी बनाएको बताइन्। उनले कला क्षेत्रमा अझ मेहनतका साथ निरन्तर लागिरहने तथा आफ्नो अभिनयलाई थप परिष्कृत गर्दै अगाडि बढ्ने प्रेरणा यस सम्मानबाट प्राप्त भएको उल्लेख गरिन्।
अम्बिका ढकालले चर्चित निर्देशक खमेश श्रेष्ठ द्वारा निर्देशित लोकप्रिय टेलिश्रृंखला पुस्ता मार्फत आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसयता उनले विभिन्न टेलिश्रृंखला तथा म्युजिक भिडियोहरूमा आफ्नो अभिनय प्रतिभा प्रस्तुत गर्दै आएकी छन्।
निरन्तर मेहनत र समर्पणका साथ कला क्षेत्रमा अघि बढिरहेकी अम्बिका ढकालको आगामी यात्रा अझ सफल, सशक्त र उचाइयुक्त बनोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।








