काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको निर्देशनमा रोकिएका पाँच जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गराउन सरकारसँग माग गरेको छ। इप्पान अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीलाई भेटेर राष्ट्रिय प्राथमिकताका आयोजनामा सहजीकरण गर्न आग्रह गरेको हो।
इप्पानले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भइसकेका आयोजनामा निकुञ्ज प्रशासनले पुनः अवरोध सिर्जना गर्दा निजी क्षेत्र निरुत्साहित भएको जनाएको छ। अध्यक्ष कार्कीले ऊर्जा मन्त्रालयबाट अनुमति पाएर निर्माण अघि बढेका आयोजनालाई वन मन्त्रालयअन्तर्गतकै निकायले रोक्नु विरोधाभासपूर्ण भएको बताए।

हाल सिन्धुपाल्चोकमा निर्माणाधीन ३६.५ मेगावाटको ब्रह्मायणी, २०.५२ मेगावाटको माथिल्लो ब्रह्मायणी, ९.७ मेगावाटको ब्रह्मायणी–ए, ४० मेगावाटको बलेफी खोला र ४६ मेगावाटको माथिल्लो बलेफी आयोजना गरी १५३ मेगावाट क्षमताका पाँच आयोजना प्रभावित भएका छन्।
मन्त्री चौधरीले विकास आयोजनामा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार र आवश्यक सहजीकरण गरिने बताएकी छन्। इप्पानका अनुसार निकुञ्ज क्षेत्रभित्र रहेका जलविद्युत आयोजनामा अवरोध जारी रहे देशको ३० हजार मेगावाट उत्पादन लक्ष्य प्रभावित हुने खतरा रहेको छ।








