काठमाडौं । निर्मला फाउण्डेसनकाे आयोजनामा बागमती प्रदेश अम्प्युटी फुटसल च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार काठमाडौंस्थित हाइवे फुटसलमा आयोजित प्रतियोगितामा तीन टोलीको सहभागिता रहेको थियो । गण्डकी, बागमती र कर्णाली प्रदेश सहभागी प्रतियोगिताको लिग चरणकाे सम्पन्न प्रतियाेगितामा कर्णाली प्रदेश च्याम्पियन बनेको हो । कर्णालीले दुई खेलबाट एक जित र एक बराबरीसहित चार अंक जोड्दै उपाधि जित्यो ।
उपाधिसँगै कर्णालीले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो । यस्तै, बागमती प्रदेश दुई बराबरीसहित दुई अंकका साथ उपविजेता बन्यो । गण्डकी प्रदेशले दुई खेलबाट एक बराबरी र एक हारसहित एक अंक जोड्यो । उपविजेता बागमतीले १५ हजार तथा तेस्रो भएको गण्डकीले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा कर्णालीका सुदीप चापागाईं उत्कृष्ट खेलाडी घोषित भए । उनले सर्वाधिक गोलकर्ताको अवार्डसमेत जिते । उत्कृष्ट गोलरक्षकको पुरस्कार पनि कर्णालीकै चेतनारायण खनालले प्राप्त गरे । तीनै विधाका विजेताले जनही पाँच हजार रुपैयाँसहित मेडल प्राप्त गरे । प्रतियोगिताको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका उपाध्यक्ष तथा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही रहेका थिए ।

विशेष अतिथिका रूपमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक बालगोपाल साहुखलाको उपस्थिति रहेको थियो । त्यस्तै, निर्मला फाउन्डेसनकी संस्थापक निर्मला भण्डारी, पूर्ण जीवन फाउन्डेसन नेपाल, इम्प्याक्ट हुप्स एकेडेमीका संस्थापक प्रेमसुन्दर होना तथा विश्राम फाउन्डेसनका प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो । प्रतियोगिताले अम्प्युटी खेलाडीहरूको क्षमता, आत्मविश्वास र खेलप्रतिको समर्पण उजागर गर्दै समावेशी खेलकुद विकासमा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ ।






