काठमाडौं । सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुली ले अरनिको राजमार्ग र तातोपानी नाकाको पुनर्निर्माणलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भूकम्प गएको एक दशक बितिसक्दा पनि अरनिको राजमार्ग र तातोपानी भन्सार क्षेत्र पूर्ण रूपमा पुनर्निर्माण हुन नसक्नु दुःखद भएको बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त योजनालाई उच्च प्राथमिकतामा राख्न उनले सरकारलाई आग्रह गरे ।
सांसद पराजुलीले देशभर देखिएको गुठी समस्याको दीर्घकालीन समाधान खोज्दै वर्षौंदेखि जमिन जोतभोग गर्दै आएका किसानलाई स्वामित्व दिनुपर्ने माग पनि गरे । साथै बाँदर, बँदेल र नीलगाईजस्ता वन्यजन्तुको आतंकका कारण किसान र कृषि क्षेत्र प्रभावित भइरहेको उल्लेख गर्दै उनले प्रभावकारी व्यवस्थापन योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

कृषि उत्पादन र किसानको सुरक्षा सुनिश्चित गर्न सिन्धुपाल्चोकको लिसंखुपाखर–४ मा बाँदर तथा बँदेल पार्क निर्माण गर्नुपर्ने प्रस्ताव समेत उनले अघि सारे ।






