काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। यस दिन जन्मदाता आमाप्रति कृतज्ञता प्रकट गर्दै छोराछोरीले मीठा–मीठा खानेकुरा खुवाउने, लुगा लगाइदिने र आशीर्वाद थाप्ने परम्परा छ।
शास्त्रीय मान्यताअनुसार उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि आमा ठूली मानिन्छिन्। त्यसैले आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गर्ने विशेष दिनका रूपमा यो पर्वलाई लिने गरिन्छ।

परम्पराअनुसार आज बिहानै नुहाईधुवाई गरी छोराछोरीले आमालाई राम्रो लुगा लगाइदिने, मीठा तथा पौष्टिक खानेकुरा खुवाउने र आशीर्वाद लिने चलन छ। यसले परिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ।
आमा नभएकाहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गरी पुरोहितलाई भोजन गराउने गर्छन्। यसरी श्रद्धापूर्वक श्राद्ध गर्दा दिवङ्गत आमाले आश गर्ने र सन्तानलाई आशीर्वाद दिने धार्मिक विश्वास छ।
धर्मशास्त्रमा आमाले सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले उनको महत्व अत्यन्त उच्च रहेको उल्लेख गरिएको छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनाइ पनि शास्त्रीय ग्रन्थमा पाइन्छ।
यस अवसरमा मातातीर्थ मा विशेष मेला लाग्ने गर्दछ, जहाँ दिवङ्गत आमाको सम्झनामा श्रद्धालुहरूले तर्पण अर्पण गर्ने गर्दछन्।













