नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने बताएका छन् ।
एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा रहेको र सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापाले गरेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समय हामी सबैका लागि पनि शोकको घडी हो । यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ ।’

पार्टीका कतिपय नेताहरूबाट आफू लगायतबारे गलत प्रचार भइराखेको भनेर उनले असन्तुष्टि जनाएका छन् । उनी लेख्छन्, ‘यस बीचमा पार्टीका मथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भैरहेको छ । शरू शर्मा नामको नक्कली फेसबुक आइडि यो काममा निक्कै सक्रिय छ ।’
पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वासलाई पुन: आर्जन गर्नु सबै एमालेहरूका लागि प्राथमिक महत्वको कार्यभार भएको उनले बताएका छन् ।








