सिन्धुपाल्चोकको बलेफीमा जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता आगामी चैत्र १३ र १४ गते बलेफी कभर्ड हलमा आयोजना हुने भएको छ। यसअघि फागुन ६ र ७ गते सञ्चालन गर्ने तय गरिएको प्रतियोगिता विशेष प्राविधिक कारणवश स्थगित भएको थियो।
स्थगित भएको उक्त प्रतिक्षित प्रतियोगिता अब आगामी चैत्र १३ र १४ गते बलेफी कभर्ड हलमा भव्य रूपमा सञ्चालन हुने आयोजकले जनाएको छ। जिल्लाका अनुभवी भेट्रान्स खेलाडीहरूको सहभागितामा हुने प्रतियोगितामा रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। प्रतियोगितालाई थप आकर्षक बनाउन विजेता टोलीका लागि नगदसहित विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

पुरस्कार विवरण:
-
प्रथम पुरस्कार: नगद रु. २०,०००, खसी, ट्रफी, मेडल र प्रमाणपत्र
-
द्वितीय पुरस्कार: नगद रु. १५,०००, बोका, ट्रफी, मेडल र प्रमाणपत्र
-
तृतीय पुरस्कार: नगद रु. १०,०००, भाले, ट्रफी, मेडल र प्रमाणपत्र
उक्त प्रतियोगिता जिल्ला भलिबल संघ सिन्धुपाल्चोकको आयोजनामा तथा श्री नवप्रतिभा युवा क्लब, बलेफी–५ सिन्धुपाल्चोकको व्यवस्थापनमा सञ्चालन हुने जनाइएको छ।प्रतियोगिताले जिल्लामा भलिबल खेलको विकासमा टेवा पुर्याउनुका साथै अनुभवी खेलाडीहरूलाई पुनः प्रतिस्पर्धात्मक मैदानमा उतार्ने विश्वास गरिएको छ। आयोजकले खेलप्रेमी तथा स्थानीय दर्शकहरूलाई उपस्थित भई प्रतियोगिताको अवलोकन गर्न आग्रह गरेको छ।













