दिपक कार्की,सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय प्रतिनिधि तथा सचिवालय संयोजक सुरेश मास्के ले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पार्टीका उम्मेदवार भरत प्रसाद पराजुली लाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति, २०८२ ले बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा चुनावी रणनीति प्रभावकारी बनाउने जिम्मेवारी मास्केलाई दिएको थियो। पार्टीको उम्मेदवारलाई दुई तिहाइ मतसहित विजयी गराउने स्पष्ट लक्ष्यसहित उनलाई क्षेत्रीय निर्वाचन सम्पादन समितिसँग समन्वय र सहकार्य गर्दै सम्पूर्ण निर्वाचन केन्द्रित गतिविधि प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी समेत प्रदान गरिएको थियो।

सोही जिम्मेवारीअनुसार मास्केले चुनावी अभियानलाई संगठित ढंगले सञ्चालन गर्दै स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूलाई परिचालन गर्ने काम गरेका थिए। गाउँ–गाउँमा मतदाता भेटघाट, चुनावी कार्यक्रम व्यवस्थापन तथा संगठन सुदृढीकरणमा उनले सक्रिय भूमिका खेलेका थिए।
चुनावी अभियानका क्रममा केन्द्रीय तहदेखि स्थानीय तहसम्म समन्वय कायम गर्दै अघि बढ्दा पार्टीको चुनावी अभियान थप सशक्त बनेको कार्यकर्ताहरू बताउँछन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भरत प्रसाद पराजुलीको जितलाई रास्वपाले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। पार्टीका नेताहरूका अनुसार चुनावी अभियानमा सुरेश मास्केको रणनीतिक समन्वय र सक्रियताले जित हासिल गर्न महत्वपूर्ण आधार तयार पारेको थियो।













