सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीको पक्षमा चुनावी माहौल तातिँदै गएको छ। बलेफी गाउँपालिकाको सुकुटेदेखि बाह्रबिसे नगरपालिकाको खोर्सानीबारीसम्म निकालिएको वृहत् र्याली र कोणसभाले क्षेत्रमा रास्वपाको उपस्थिति बलियो बन्दै गएको संकेत दिएको छ।
सुकुटेबाट सुरु भएको र्याली खोर्सानीबारी पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा पार्टी उपसभापति डिपि अर्याल, केन्द्रीय सदस्य नेत्र कार्की लगायत जिल्ला तहका नेता तथा स्थानीय कार्यकर्ताले सम्बोधन गरे। वक्ताहरूले देशलाई राजनीतिक स्थायित्व र सुशासनको मार्गमा लैजान भ्रष्टाचार अन्त्य अपरिहार्य रहेको भन्दै “घण्टीमा मत” दिन मतदातासँग अपिल गरे।

उम्मेदवार पराजुलीले आफू निर्वाचित भएपछि राज्यबाट पाउने एक रुपैयाँ पनि सुविधा नलिने घोषणा दोहोर्याउँदै विकास र रोजगारी सृजनालाई मुख्य एजेण्डा बनाएको बताए। आफ्नै व्यवसायबाट जीविकोपार्जन गर्दै सयौं युवालाई रोजगारी दिएको उल्लेख गर्दै उनले आफूलाई काम गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरे।
कोणसभामा विदेशबाट मतदानका लागि फर्किएका मतदाता तथा जेन्जी युवाहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। उनीहरूले परम्परागत दलबाट समयानुकूल परिवर्तन नभएको भन्दै वैकल्पिक शक्तिका रूपमा रास्वपालाई रोज्नुपर्ने धारणा राखे। आयोजकका अनुसार र्याली तथा सभामा हजारौं मतदाता सहभागी भएका थिए।
स्थानीय विश्लेषणअनुसार पुराना दलभित्रको आन्तरिक किचलोका बीच नयाँ शक्ति र स्थापित दलबीचको प्रतिस्पर्धा यस क्षेत्रमा निर्णायक मोडमा पुगेको छ।














