सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का ‘तारा’ चिन्हका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ मंगलबार भोटेकोशी गाउँपालिकाको लिस्तीमा मतदाता भेटघाट तथा सुझाव संकलनमा पुगेका छन्। लामो समयदेखि हिउँदे वर्षाको प्रतीक्षामा रहेका स्थानीयवासीले पानी र हिमपातसँगै उम्मेदवारको आगमनलाई सुखद संयोग मान्दै “यो जितको शुभ संकेत हो” भन्दै उत्साह व्यक्त गरेका छन्।
गाउँ–बस्तीमा भएको आत्मीय छलफलपछि सापकोटाले स्थानीयको माया, विश्वास र हौसलाले आफ्नो विजय यात्रा थप मजबुत बनेको अनुभूति भएको बताए।

यसअघि भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेलको कार्यकालमा लिस्तीमाई मन्दिर, छगाम–बगाम, चोकर–मोकर, भैरवकुण्ड र दुगुनागढी जाने सडक विस्तार सुरु भएको थियो। ती अधुरा योजना पूरा गर्न सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पौडेलले ‘तारा’ चिन्हमा मतदान गर्न अपिल गरे।
नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सापकोटाले भैरवकुण्ड ट्रेकिङ मार्गको प्रवर्द्धनसहित जुगल हिमाल, सुकुटे र तातोपानीलाई पर्यटकीय ‘हब’ बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। उनले फागुन २१ गते ‘तारा’ चिन्हमा मतदान गरी विजय अभियानलाई सशक्त बनाउन मतदातासँग आग्रह गरेका छन्।













