४ फागुन, सिन्धुपाल्चोक । क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले आज लिसंखुपाखर गाउँपालिकाको पाखर बजारबाट औपचारिक रूपमा मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको सुरुवात गरेका छन् ।

चौतारामा हिजो प्रतिबद्धता पत्र सार्वजनिक गरेका सिन्धुपाल्चोक हजारौं नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक तथा मतदाताहरूले पाखर बजारमा उनलाई भव्य स्वागत गर्दै जितको शुभकामना दिए । तामाङ बाहुल्य क्षेत्र लिसंखुपाखर तारामय बनेको थियो । पूर्व सभामुख अग्निप्रसाद सापकोटाले पनि उनीलाई शुभकामना दिन लिसंखुपाखर पुगेका थिए ।
पाखर बजारबाट सुरु भएको अभियानमा तारामय झण्डासहितको विशाल जुलुस निकालिएको थियो । स्थानीय बासिन्दा, युवा, महिला, विद्यार्थी र पार्टी कार्यकर्ताहरूले डम्फु झ्याली, झाँकी र नाराहरूका साथ उनलाई स्वागत गरेका थिए । र्यालीमा सहभागीहरूले ‘सुबोधलाई जिताउन तारामा मतदान गर्न आग्रह गरेका थिए ।
अभियानमा निर्वाचन परिचालन संयोजक केशव नेपाल, बागमती प्रदेशसभा सदस्य द्वय सरल सहयात्री र अमृता नेपाल, बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निम्फुन्जो शेर्पा, पूर्व सांसद सिंहबहादुर बिक लगायतका प्रमुख नेताहरूको उपस्थिति रहेको थियो ।
ठूलो पाखरमा आयोजित कोणसभामा उमेदवार सापकोटाले अघिल्लो अधुरो कार्यकालमा गरेका काम र नयाँ प्रतिबद्धता प्रस्तुत गरेका थिए । अघिल्लो ३३ महिनाको सांसद कार्यकालमा गरेको विकास निर्माण, जनताका समस्या समाधान र विभिन्न योजनाहरूबारे विस्तृत जानकारी गराएका उनले अधुरा रहेका आयोजनाहरू पूरा गर्न पूर्ण कार्यकालको अवसर दिन मतदातासँग आग्रह गरे ।


“जनताको विश्वास र माया नै मेरो शक्ति हो । मैले सुरु गरेका कामहरूलाई टुङ्गोमा पुर्याउन र नयाँ प्रतिबद्धताहरू पूरा गर्न तपाईंहरूको मत आवश्यक छ,” उनले भने । उनले स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि र रोजगारी जस्ता क्षेत्रमा नयाँ योजनाहरूबारे पनि सुनाए ।
जनताको सुझाव संकलन
अभियानको मुख्य उद्देश्य मतदाता भेटघाट मात्र नभई स्थानीय जनताका सुझाव र समस्या संकलन गर्नु पनि रहेको उनले बताए । पाखर बजार, आसपासका टोल र गाउँहरूमा पुगेर सापकोटाले स्थानीयसँग प्रत्यक्ष कुराकानी गरेका थिए । महिला, युवा, किसान र ज्येष्ठ नागरिकहरूबाट आएका सुझावहरूलाई उनले टिपेका थिए ।

यो अभियानले सिन्धुपाल्चोक क्षेत्र नं. १ मा नेकपाको पक्षमा ठूलो जनलहर सिर्जना गरेको छ । पूर्व सभामुख अग्निप्रसाद सापकोटाले सुबोध युवा, इमानदार र परिश्रमी युवा नेता भएकोले क्षेत्रको विकासमा ठूलो योगदान दिन विश्वास दिलाए । बाह्रबिसेका पूर्वमेयर शेर्पाले सुबोधलाई जिताउन आग्रह गरे ।













