सरकारले निपा भाइरसको नमुना संकलन र परीक्षणका लागि अन्तरिम निर्देशिका बनाएको छ । छिमेकी देश भारतमा निपा भाइरसको सङ्क्रमण बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको नमुना संकलन र परीक्षणका लागि अन्तरिम निर्देशिका बनाएको हो ।
सरकारले बनाएको यो निर्देशिकाले ज्वरो र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका, निपा भाइरसको प्रभावित क्षेत्र अर्थात्, भारतबाट फर्किएका र अन्य यो भाइरससँग सम्बन्धित मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई शंकास्पद निपा केसका रूपमा राखेको छ ।

साथै, बांगलादेश र भारतको पश्चिम बंगाल तथा केरलाजस्ता यो भाइरसको संक्रमण भएका क्षेत्रबाट फर्किएकाहरूलाई विशेष सर्तकर्ता अपनाउन पनि निर्देशिकामा भनिएको छ । निर्देशिका अनुसार शंकास्पद तथा सम्भावित केसलाई तुरुन्तै आइसोलेसनसहित अस्पताल भर्ना गर्ने, स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गर्नुपर्ने पनि महाशाखाले जनाएको छ ।
कसरी गरिन्छ परीक्षण ?
निपा भाइरसको शंकास्पद नमुना संकलन गर्दा घाँटीको स्वाब, रगत, पिसाब तथा आवश्यक परे सीएसएफ संकलन गर्नुपर्ने, संकलित नमुनालाई जैविक सुरक्षाका मापदण्ड पालना गर्दै २–८ डिग्री सेल्सियस तापक्रममा ‘ट्रिपल प्याकेजिङ’मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने व्यवस्था गरिएको छ ।
महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विस्तृत अनुसन्धानका लागि जानकारी गराउनुपर्ने निर्देशिकामा उल्लेख छ । लक्षणसहित मृत्यु भएको वा गम्भीर अवस्थामा पुगेका व्यक्तिलाई सम्भावित निपा केस मानिने पनि निर्देशिकामा उल्लेख छ ।
प्रयोगशालामा नमुना प्रशोधन गरी निपा भाइरसको रियल टाइम पीसीआर परीक्षण गर्नुपर्ने र परीक्षणमा नतिजा सकारात्मक आएमा प्रारम्भिक केसका लागि केन्द्रीय प्रयोगशालामा पुनः पुष्टि परीक्षण गरिने निर्देशिकामा उल्लेख छ । नकारात्मक नतिजा आएमा पिसाबको थप परीक्षण तथा अन्य सम्भावित रोग जस्तै: लेप्टोस्पाइरोसिस, स्क्रब टाइफस र केन्द्रीय स्नायु प्रणालीसम्बन्धी संक्रमणको पनि परीक्षण गरिनेछ ।
सुरुमा ज्वरो आउने, शरीर दुख्ने, घाँटी दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिन्छन् । त्यसपछि बिरामीमा इन्सेफ्लाइटिस अर्थात्, मस्तिष्कको सुजनका लक्षण देखिन सक्छन् । यस्तो गम्भीर अवस्था आएमा बिरामी २४ देखि ४८ घण्टाभित्र अचेत अवस्थामा जान सक्छ । साथै, निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन सक्छ ।






