सिन्धुपाल्चोक। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले जिल्ला सभापति जंग बहादुर लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लामो समयदेखिको आन्तरिक रस्साकस्सीलाई चिर्दै पार्टीले लामाको पक्षमा अन्तिम निर्णय लिएको हो।
यो क्षेत्र यसअघि पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको बलियो प्रभाव भएको क्षेत्रका रूपमा चिनिन्थ्यो। तर, बस्नेत हाल ‘टेरामक्स’ लगायतका विभिन्न कानूनी प्रकरणका कारण निलम्बनमा परेपछि पार्टीले विकल्पका रूपमा जिल्ला सभापति लामालाई अगाडि सारेको हो। लामालाई टिकट दिएर कांग्रेसले जिल्लामा नयाँ नेतृत्व र संगठनलाई बलियो बनाउने सन्देश दिन खोजेको छ।

जंग बहादुर लामाले टिकट पाएसँगै सिन्धुपाल्चोक–१ मा चुनावी रौनकता थपिएको छ। अब यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ:जंग बहादुर लामा (नेपाली कांग्रेस), भरत प्रसाद पराजुली (रास्वपा), माधव सापकोटा ‘सुबोध’ (नेकपा), होमनारायण श्रेष्ठ (नेकपा एमाले)ले टिकट पाइसकेका छन् ।
२०७९ को चुनावमा केही मतभेदका कारण स्वतन्त्र उम्मेदवारी दिएका लामाले यस पटक पार्टीको आधिकारिक ‘रुख’ चिन्ह लिएर मैदानमा उत्रँदा असन्तुष्ट पक्षलाई कसरी समेट्छन् भन्ने विषयलाई महत्वपूर्ण मानिएको छ। तातोपानी नाका व्यवस्थापन, बाढी नियन्त्रण र सडक पूर्वाधारलाई मुख्य चुनावी एजेण्डा बनाएर लामाले आजै आफ्नो मनोनयन दर्ता गर्ने तयारी गरेका छन्।













