सिन्धुपाल्चोक । द जेन्जी काउन्सिल सिन्धुपाल्चोकले आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार भरत पराजुलीलाई समर्थन गर्ने निर्णय गरेको छ।
काउन्सिलले जारी गरेको विज्ञप्तिमा पराजुलीलाई अध्ययनशील, प्राविधिक दक्षता भएको तथा सामाजिक उत्तरदायित्व बोकेको व्यक्तित्वका रूपमा उल्लेख गर्दै उहाँको उम्मेदवारीले वैकल्पिक र उत्तरदायी राजनीतिको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरिएको छ।

विज्ञप्तिमा पराजुलीले लामो समयदेखि दुर्गम तथा ग्रामीण क्षेत्रमा खानेपानी, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई आधार मानेर समर्थन गर्ने निर्णय गरिएको जनाइएको छ। साथै, प्रचारभन्दा कर्ममा विश्वास गर्ने तथा जनताको समस्या र सम्भावनासँग नजिकबाट परिचित नेतृत्वको आवश्यकता रहेको काउन्सिलको धारणा छ।
द जेन्जी काउन्सिल सिन्धुपाल्चोकले पुरानो राजनीतिक संस्कारप्रति असन्तुष्टि बढिरहेको वर्तमान अवस्थामा मूल्य, इमानदारी र सेवामूलक राजनीतिलाई स्थापित गर्न पराजुली जस्ता व्यक्तित्वलाई सहयोग गर्नु समयसापेक्ष रहेको जनाएको छ।
काउन्सिलले सिन्धुपाल्चोक क्षेत्र नं. १ का मतदातालाई परिवर्तनको पक्षमा उभिन र घण्टी चिन्हमा मतदान गरी भरत पराजुलीलाई विजयी गराउन आग्रह पनि गरेको छ।













