विशेष महाधिवेशनबाट कांग्रेस सभापति चयन भएका गगन थापाले निर्वाचन आयोगले आफूहरूलाई ३ गतेभित्र आधिकारिकता दिने विश्वास व्यक्त गरेका छन् । निर्वाचन आयोगमा अद्यावधिक विवरणसहित आधिकारिकताको दाबी गर्न पुगेका थापाले यस्तो बताएका हुन् ।
“हामीले सम्पूर्ण कागजात बुझाएका छौँ । हामीले पर्सिभित्र आधिकारिकता पाउने विश्वास छ,” ।आफूहरूले केन्द्रीय कार्यसमिति भंगको जानकारी निर्वाचन आयोगमा गराउँदै विशेष महाधिवेशन आयोजना गरेको हुनाले आफूहरूले नै आधिकारिकता पाउने उनको भनाइ छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार राजनीति दलको पदाधिकारी परिवर्तन भएमा आयोगलाई जानकारी गराउनुपर्नेहुन्छ । यस्तै, दलको चुनाव चिह्न र झन्डाको आधिकारिकता विषयमा विवाद भएमा निर्वाचन आयोगमार्फत समाधान खोज्नुपर्ने हुन्छ । विशेष महाधिवेशन पक्षधर आफूलाई नै आधिकारिक दाबी गर्दै आयोग पुगेको हो ।
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै यो विवाद टुंग्याइदिन विशेष महाधिवेशन पक्षधरले आयोगलाई आग्रह गरेका छन् ।






