सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी बलेफी गाउँपालिका वडा नं. ५ को वडा भेलाबाट मोहन सेवा उपसभापतिमा चयन भएका छन्। बलेफी बजारमा सम्पन्न भेलाले नयाँ वडा समिति गठन गर्दै संगठन विस्तार र स्थानीय राजनीतिलाई सशक्त बनाउने लक्ष्य लिएको छ।
भेलाबाट रमेश पौडेल वडा सभापतिमा निर्वाचित भएका छन् भने सचिवमा निमा तामाङ र कोषाध्यक्षमा बिमला पौडेल अधिकारी चयन भएका छन्। सदस्यहरूमा बसन्त नेपाल, रूपक नेपाल, लिलाबहादुर नेपाली र सरस्वती तिमल्सिना नेपाल रहेका छन्।

नव-निर्वाचित उपसभापति मोहन सेवाले पार्टीको नीति र एजेन्डालाई घर–घरमा पुर्याउने, युवालाई संगठित गर्ने र जनताको दैनिक समस्यालाई राजनीतिक मुद्दामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको जनअपेक्षा ठूलो छ, त्यसलाई कर्ममार्फत प्रमाणित गर्ने हाम्रो दायित्व हो।”
राजनीतिक विश्लेषकहरूका अनुसार, बलेफी–५ मा मोहन सेवा जस्ता स्थानीय स्तरमा पकड भएका व्यक्तिको उपसभापतिमा चयनले रास्वपाले संगठन विस्तारलाई प्राथमिकतामा राखेको संकेत गर्छ। यो चयनलाई आगामी स्थानीय राजनीतिक समीकरणमा पार्टीको आधार मजबुत बनाउने कदमका रूपमा हेरिएको छ।













